जाबी अलोन्सोले आठ महिना नपुग्दै छाडे रियल मड्रिडको प्रशिक्षक पद

पढनै पर्ने

रियल मड्रिडका प्रशिक्षक जाबी अलोन्सोले कार्यभार सम्हालेको आठ महिना नपुग्दै क्लब छाडेका छन्।

उनको स्थानमा उनकै पूर्व टिममेट (लिभरपुलका पूर्व साथी) अल्भारो आर्बेलोआलाई नयाँ प्रशिक्षक नियुक्त गरिएको छ।

रियल मड्रिडका अनुसार ४४ वर्षीय अलोन्सोले ‘आपसी सहमति’ मा क्लब छाड्ने निर्णय गरेका हुन्।

यो घोषणा भएको केही मिनेटमै क्लबले आर्बेलोआको नियुक्तिको जानकारी दिएको थियो। स्पेन र रियल मड्रिडका पूर्व डिफेन्डर आर्बेलोआ यसअघि रियलकै ‘बी’ टिमको प्रशिक्षक थिए।

आइतबार भएको स्पेनिस सुपर कपको फाइनलमा चिरप्रतिद्वन्द्वी बार्सिलोनासँग पराजित भएपछि र ला लिगामा पनि बार्सिलोनाभन्दा ४ अंकले पछि परेपछि अलोन्सो दबाबमा थिए।

बीबीसीका अनुसार, आइतबारको फाइनलअघि अलोन्सो र स्ट्राइकर किलियान एमबाप्पेबीच खेलको रणनीतिका विषयमा भनाभन भएको थियो। सोमबार क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग पनि उनको विवाद भएपछि अन्ततः उनले क्लब छाड्ने निर्णय भएको हो।

अलोन्सोले गत समरमा कार्लो एन्सेलोटीको स्थान लिएका थिए। उनले गत सिजन बायर लेभरकुजेनलाई बुन्डेसलिगाको उपाधि जिताएका थिए।

क्लबले एक विज्ञप्ति जारी गर्दै अलोन्सोलाई ‘रियल मड्रिडको लेजेन्ड’ भन्दै सम्मान प्रकट गरेको छ। एमबाप्पेले पनि इन्स्टाग्राममा अलोन्सोलाई धन्यवाद दिँदै लेखेका छन्, ‘तपाईंसँग खेल्न पाउनु र सिक्न पाउनु मेरा लागि खुसीको कुरा हो। म तपाईंलाई एक स्पष्ट विचार भएको प्रशिक्षकको रूपमा सम्झनेछु।’

४२ वर्षीय आर्बेलोआले सन् २०२० देखि क्लबको युवा टोलीलाई प्रशिक्षण दिँदै आए पनि उनले अहिलेसम्म कुनै पनि सिनियर टोली सम्हालेका छैनन्। उनले बुधबार कोपा डेल रे अन्तर्गत अल्बासेटे विरुद्धको खेलबाट टिमको नेतृत्व गर्नेछन्।

अलोन्सोको नेतृत्वमा रियलले ३४ मध्ये २४ खेल जितेको थियो। तर च्याम्पियन्स लिगमा लिभरपुल र म्यानचेस्टर सिटीसँगको हार तथा एथ्लेटिको मड्रिडसँगको ५-२ को लज्जास्पद पराजयले उनको स्थिति कमजोर बनाएको थियो।

खेल विश्लेषक गुइलेम बालागका अनुसार, अलोन्सोको ‘कडा र स्पष्ट योजना’ र खेलाडीहरूको ‘आफ्नै तरिकाले खेल्ने चाहना’ बीच तालमेल नमिलेका कारण यो परिस्थिति सिर्जना भएको हो।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार