थारु समुदायमा नयाँ वर्षको उत्साह

पढनै पर्ने

सुदूरपश्चिमको तराई क्षेत्र, विशेष गरी कैलाली र कञ्चनपुर जिल्ला, अहिले उत्सवमय बनेको छ। यहाँ बसोबास गर्ने थारु समुदायको घर–आँगनमा अहिले माघी पर्वको रौनक छाएको छ। थारु समुदायले माघीलाई एक चाडका रूपमा मात्र नभइ आफ्नो नयाँ वर्षको रूपमा समेत धुमधामसँग मनाउँदैछन्।
पुसको कठ्यांग्रिदो जाडोलाई बिर्साउने गरी गाउँबस्तीमा उल्लास छाएको छ। एक हप्ता अघिदेखि नै सुरु भएको तयारीले अहिले मूर्त रूप लिएको छ। थारु बस्तीहरूमा पस्दा जो कोहीले पनि उमंग र खुसीको महसुस गर्न सक्छन्। यो पर्व थारु समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण पर्व हो, जसलाई उनीहरूले माघी भन्ने गर्छन्।
माघीको तयारी पुस लाग्नेबित्तिकै सुरु भए पनि विशेष तयारी भने एक हप्ता अघिदेखि तीव्र हुन्छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ की स्थानीय बिपनी चौधरीका अनुसार यो समयमा थारु महिलाहरूलाई भ्याइनभ्याइ हुन्छ।
‘हामीले हरेक वर्ष पुसको अन्तिम दिनदेखि माघ ३ गतेसम्म धुमधामका साथ माघी मनाउँछौं। यसका लागि एक हप्ता अघिदेखि नै जंगल गएर सालका पात टिप्ने, दुना–टपरी गाँस्ने र घरलाई लिपपोत गरेर चिटिक्क पार्ने काम गर्छौं।’ उनले भनिन् ‘खानपिनका लागि चामलको पिठो बनाउन कुटानी–पिसानीको काम पनि अगाडि नै सकिसकेका छौं। ढिकरी र रोटी पकाउनका लागि सबै तयारी पूरा भइसकेको छ।’ उनका अनुसार गाउँघरमा महिलाहरू एकजुट भएर पर्वको स्वागतमा जुट्छन्।
माघी पर्वको अर्को मुख्य विशेषता भनेको यसको खानपिन हो। यो पर्वमा थारु समुदायमा विशेष परिकारहरू पाक्छन्। बिपनी चौधरीका अनुसार माघीमा बंगुरको मासु अनिवार्य जस्तै हुन्छ। यसका साथै जाँडको झोल (स्थानीय मदिरा), ढिकरी (चामलको पिठोबाट बनाइने विशेष परिकार), आलु, मुला र सिन्कीको तरकारी खाने चलन छ।
पुस मसान्तको दिन, जसलाई थारु भाषामा ‘जिता मरना’ दिन पनि भनिन्छ, यस दिन घर–घरमा सुँगुर काट्ने र मासुका परिकार बनाउने गरिन्छ। पुसको अन्तिम रात यी परिकारहरू खाएर रमाइलो गरिन्छ भने माघ १ गते बिहानै उठेर नदी वा तलाउमा नुहाउने परम्परा छ।
माघ १ गते बिहानै सबेरै उठेर नजिकैको नदी, खोला वा तलाउमा गएर नुहाउने चलन छ। यसलाई पाप पखाल्ने र पुण्य कमाउने अवसरका रूपमा लिइन्छ। नुहाइसकेपछि घरका आफूभन्दा ठूला वडाबाट आशीर्वाद लिने गरिन्छ। सानालाई आशीर्वाद दिने र ठूलालाई ढोग्ने यो चलनलाई ‘सेवा सलाम’ भनिन्छ।
नयाँ वर्ष पनि भएकाले यो समयमा चेलीबेटीलाई विशेष सम्मान गरिन्छ। विवाह गरेर गएका छोरी–चेलीहरूलाई माइतीमा बोलाउने, मीठा परिकार खुवाउने र उपहार दिने चलन छ। यसले दाजुभाइ र दिदीबहिनीबीचको प्रेमलाई अझ प्रगाढ बनाउँछ।
माघी पर्वको सबैभन्दा रोचक र महत्त्वपूर्ण पक्ष भनेको यसको सामाजिक तथा राजनीतिक पाटो हो। धनगढी ६ का थारु अगुवा मोतिलाल चौधरीका अनुसार माघी भनेको खानपिन र रमाइलो मात्र होइन, यो थारु समुदायको ’नयाँ आर्थिक वर्ष’ र ’नयाँ नेतृत्व चयन’ गर्ने समय पनि हो।
परम्परा अनुसार माघको पहिलो हप्ताभित्र थारु गाउँहरूमा ’खोज्नी बोझ्नी’ वा भेला आयोजना गरिन्छ। यो भेलाले आगामी वर्षका लागि गाउँको मुख्य मान्छे अर्थात् ‘भलमन्सा’ छनोट गर्छ। साथै, गाउँको सुरक्षा गर्ने ‘चौकीदार’ र हुलाकीको काम गर्ने व्यक्तिहरू पनि यसै समयमा छानिन्छन्। यो प्रक्रिया पूर्ण रूपमा लोकतान्त्रिक हुन्छ, जहाँ गाउँलेहरूले छलफल गरेर सर्वसम्मत वा बहुमतका आधारमा नेतृत्व चयन गर्छन्।
‘यसबेला थारु समुदायले गाउँमा अर्को वर्ष गरिने विकास निर्माणका कार्यहरूको वार्षिक योजना बनाउँछन्। कुलो–पानी मर्मत, बाटोघाटो निर्माण र पूजाआजाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल हुन्छ। साथै, समुदायमा देखिएका समस्याहरूको समाधान खोज्ने र वर्षभरिको हिसाब–किताब सार्वजनिक गर्ने काम पनि यही बेला हुन्छ।’उनले भने।
यति मात्र होइन, दाजुभाइबीच घर छुट्टिने वा अंशबन्डा गर्ने सोच भएमा पनि यही माघीको समयमा भागबण्डा गर्ने पुरानो चलन रहेको मोतिलालले बताए। यसरी हेर्दा माघी पर्व थारु समुदायको सामाजिक प्रशासन चलाउने मुख्य आधार स्तम्भ हो।
पर्वको सुरुवातसँगै गाउँमा नाचगानको रौनक पनि सुरु हुन्छ। स्थानीय सुन्दरी चौधरीका अनुसार माघीको अवसरमा ‘मघौटा’ नाच नाच्ने गरिन्छ। पर्वको सुरुका दिनहरूमा घर–घरमा गएर नाच्ने, गाउने र रमाइलो गर्ने चलन छ। परम्परागत पोसाकमा सजिएका युवायुवतीहरूले मादलको तालमा नाच्दै एक–अर्कालाई शुभकामना साटासाट गर्छन्।
‘माघी आएपछि खुट्टा आफैं नाच्न खोज्छन्, गाउँघर गुञ्जायमान हुन्छ,’ सुन्दरीले भनिन्।
यद्यपि, समयसँगै केही चिन्ताहरू पनि थपिएका छन्। पछिल्लो समय युवा पुस्ताले आफ्नो मौलिक संस्कृति र परम्परा बिर्सिदै गएकोमा पाका पुस्ताहरू चिन्तित छन्। स्थानीय पार्वती चौधरीले युवाहरू आधुनिकतातर्फ आकर्षित हुँदा माघीको मौलिकता कतै हराउने हो कि भन्ने चिन्ता व्यक्त गरिन्।
‘अहिलेका केटाकेटीहरू मोबाइल र बजारिया गीतमा रमाउन थालेका छन्। परम्परागत मघौटा नाच र गीतहरू बिस्तारै कम हुँदै गएका छन्। हाम्रो पहिचान जोगाउन युवाहरूलाई संस्कृति सिकाउनु जरुरी छ,’ पार्वतीले भनिन्। उनले आफ्ना छोराछोरीलाई चाडपर्वको महत्त्व बुझाउनुपर्नेमा जोड दिइन्।
माघीको महत्त्वलाई बुझ्दै राज्यले पनि यसलाई विशेष स्थान दिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको माघी (माघ) पर्वको अवसरमा बुधबार (पुस ३०) आज सार्वजनिक बिदा दिएको छ।
माघ १ गतेलाई राष्ट्रिय पर्वका रूपमा सार्वजनिक बिदा दिइँदै आएको छ भने त्यसपछिका दिनहरूमा स्थानीय तहबाट पनि बिदा दिने प्रचलन रहँदै आएको छ।
जस अनुसार कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहहरूले माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिने गरेका छन्। यसले समुदायलाई पर्व मनाउन अझ सहज बनाएको छ।
माघीको अवसरमा विभिन्न संघ–संस्थाहरूले ‘माघी मिलन’ तथा शुभकामना आदानप्रदान कार्यक्रमहरू आयोजना गरेका छन्। यस्ता कार्यक्रमहरूले थारु र गैर–थारु समुदायबीचको भाइचारा र सद्भावलाई बलियो बनाउन मद्दत पु¥याएको छ।
सुदूरपश्चिममा तराईमा बसोवास गर्ने समुदायले माघी पर्व मनाइरहदा पहाडी समुदायले भने माघी संक्रान्ते पर्व मनाउने गर्छन्। पुसको अन्तिम दिन विभिन्न धार्मीकस्थलहरुमा रातभरी जागराम बस्ने, भजन कृतन गर्ने र माघ १ गते नदीमा स्नान गर्ने गर्छन्। प्रदेशका डडेल्धुराको भित्रि मधेस परशुराम धाम, कैलालीको गोदावरी धाम लगायतका यस्था धार्मीक स्थलमा मेला लाग्ने गर्छ र त्यहाँ स्नान गर्न सयौँ श्रदालु भक्तजन जाने गर्छन्।

- Advertisement -spot_img

थप समाचार

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

ताजा समाचार