कैलालीको टीकापुरमा भएको भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालत कैलालीले अन्तिम फैसला सुनाएको छ। मंगलबार जिल्ला न्यायाधीश गोकुल निरौलाको इजलासले घटनामा संलग्न मुख्य अभियुक्तसहित १३ जनालाई दोषी ठहर गरेको हो।
अदालतले हत्यामा संलग्न ६ जनालाई जीवित रहेसम्म आजीवन कारावास र अन्य ७ जनालाई जन्मकुैदको सजाय तोकेको छ।
अदालतका सूचना अधिकारी पंकज उपाध्यायका अनुसार मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ अनुसार ६ जनालाई जीवित रहेसम्म जेल सजाय हुनेछ। यसरी आजीवन कारावासको सजाय पाउनेहरूमा मुख्य योजनाकार मानिएका नवीन रावलसहित आर्यान देवकोटा, रोशनबहादुर शाही, चिरञ्जिवीजंग शाही (अनुज), रोहित आले र हिमाल शाही रहेका छन्।
यस्तै, अदालतले अन्य ७ जना प्रतिवादीलाई मुलुकी अपराध संहिताको दफा १७७ (१) बमोजिम जन्मकैदको फैसला सुनाएको छ। यस सूचीमा मदन शाही, हेमन्त शाही, दीपेन्द्र शाही (धिरज), निशान्त मल्ल (गोलु), शोहन शाह, लोकेन्द्र कुँवर र सविनजंग शाही रहेका छन्।
सरकारी वकिलको कार्यालयले २१ जनाविरुद्ध मुद्दा दायर गरेकोमा अदालतले ७ जनालाई भने निर्दोष ठहर गर्दै सफाइ दिएको छ। सफाइ पाउनेहरूमा अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास सेरचन थकाली र कपिल श्रेष्ठ छन्।
फरार रहेका प्रतिवादी लोकजंग शाहीको हकमा भने अदालतले मुद्दालाई मुल्तबीमा राख्ने आदेश दिएको छ। उनी पक्राउ परे वा हाजिर भएपछि उनको मुद्दा अघि बढ्नेछ।
अदालतले दोषी ठहर भएका १३ जनाबाट पीडित परिवारलाई क्षतिपूर्ति भराउने आदेश पनि दिएको छ। फैसला अनुसार सबै प्रतिवादीले दामासाहीले (बराबर हिस्सा लाग्ने गरी) कुल १५ लाख रुपैयाँ पीडित पक्षलाई बुझाउनुपर्नेछ। साथै, पीडित राहत कोषमा जम्मा हुने गरी प्रतिव्यक्ति २ हजार ८ सय रुपैयाँ जरिवाना समेत तोकिएको छ।
लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय युवा भूपेन्द्र बडुवालको २०७८ कात्तिक २३ गते टीकापुर–१ मा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। सोही वर्षको फागुन २६ गते प्रहरी अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले २१ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा अदालतमा दर्ता गराएको थियो। लामो सुनुवाइपछि अदालतले आज यो फैसला सुनाएको हो।
भूपेन्द्र बडुवाल हत्याकाण्डः ६ जनालाई जीवित रहेसम्म कैद, अन्य ७ जनालाई जन्मकैदको फैसला


