७ हजार १ सय ३२ मिटर उचाइमा रहेको अपि हिमालको फेदसम्म उहिलेदेखि नै यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको लर्को लाग्थ्यो। तर, उहिले र अहिलेको यात्रा तथा बसाइको परिवेशमा भने आकाश–पातालको फरक आइसकेको छ। उहिले अपि क्षेत्रमा पुग्ने पर्यटकहरूका लागि अहिलेको जस्तो क्याम्पिङ गर्न वा बास बस्नका लागि कुनै घर तथा संरचनाहरू बनेका थिएनन्। अहिले भने समय फेरिएको छ, हिमालको फेदमा पर्यटकहरूको सजिलो बासका लागि चिटिक्क परेका घरहरू बनेका छन्।
अहिले अपि बेसक्याम्प क्षेत्रमा पर्यटकहरूकै सुविधालाई ध्यानमा राखेर दुईवटा गेस्ट हाउसहरू सञ्चालनमा आएका छन्। ती मध्ये ‘यार्सा होटल’ का सञ्चालक हुन्, झलकसिंह धामी। अपि हिमाल गाउँपालिकाका स्थानीय बासिन्दा झलकसिंह विगत पाँच वर्षदेखि तल गाउँको न्यानो छोडेर अपि क्षेत्रको चिसो सिरेटोमा पर्यटकको सेवामा तल्लीन छन्। आफ्नो घरपरिवार र गाउँघर छोडेर यहाँ हिमालको काखमा आई पर्यटकको सेवा गर्न पाउँदा उनलाई एक किसिमको आत्मसन्तुष्टि र गर्वको अनुभूति हुन्छ। कहिलेकाहीँ यहाँको भूगोल र कठिनाइले गर्दा उनलाई दुःखको महसुस पनि हुन्छ।
केही वर्ष अघिसम्म अहिलेको जस्तो सुविधासम्पन्न बासस्थान थिएन। उनी बेसक्याम्प भन्दा अलि तल रहेको धौली ओडार भन्ने ठाउँमा प्राकृतिक गुफा (ओडार) भित्र बसेर पर्यटकहरूलाई सेवा दिन्थे। धौली ओडारमा उतिबेला अहिलेको जस्तो ‘रेड हाउस’ र ‘ग्रिन हाउस’ नाम गरेका दुई वटा गेस्ट हाउसहरू थिएनन्। त्यो समयमा झलक र उनका साथीहरू त्यही चिसो ओडारको गुफामा बसेर विदेशी तथा स्वदेशी पर्यटकलाई खाना र बासको व्यवस्था गरिदिन्थे।
‘पहिले हामी धौली ओडार भन्ने ठाउँमा ओडारभित्रै बास बसाएर पर्यटक र उनीहरूका सामान बोक्ने भरियाहरूलाई सुविधा दिन्थ्यौँ।’ उनले सुनाए।
अहिले भने समय र आवश्यकता अनुसार झलकसिंहको बसाई सराई अपि बेसक्याम्पमै भएको छ। बेसक्याम्पमा उनी बस्न थालेको र सेवा दिन थालेको दुई वर्ष भयो। पर्यटकीय सिजनमा पर्यटकहरूको आगमन बाक्लो हुँदा उनलाई एक छिन पनि फुर्सद हुँदैन। तर, अफ–सिजनमा वा पर्यटक नभएको बेला भने उनी त्यो हिमालको फेदमा नितान्त एक्लो हुन्छन्। कमाइ ठिकै छ, तर आफ्नै ठाउँमा, आफ्नै हिमालको फेदमा बसेर पसिना बगाउन पाउनुलाई उनी ठुलो धर्म मान्छन्।
अहिले उनले बेसक्याम्पमा ढुङ्गाको गाह्रो र जस्तापाताले छाएको चार कोठाको एउटा सानो बलियो घर बनाएका छन्। उनले बनाएको त्यो घरमा कम्तीमा २० जना जति पर्यटकहरू सजिलै अटाउन सक्छन्। अपि हिमाल, चमेलिया नदीको मुहान, कालीढुङ्गा ताल, रिङ्दे ताल लगायतका तालतलैया र अन्य हिमचुचुराहरू हेर्न आउने पर्यटकहरू अहिले उनकै होटलमा थकाइ मार्ने र बास बस्ने गरेका छन्। उनी होटलमा प्राय एक्लै काम गर्छन्। कहिलेकाहि सहयोगले पनि साथ दिन्छन्।
दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्ने यो अपि बेसक्याम्पसम्म सामानहरू पु¥याउन भने निकै कठिन र चुनौतीपूर्ण छ। सुदूरपश्चिम प्रदेशको हालको राजधानी धनगढीबाट सामान खरिद गरेर दार्चुलाको मकरीगाडसम्म गाडीमा पु¥याइन्छ। त्यहाँबाट खच्चर र भरियाको पिठ्युँमा बोकाएर उकाली–ओराली गर्दै होटलसम्म सामान पु¥याउने गरिन्छ। झलकका अनुसार, नुनदेखि चामलको बोरासम्म त्यहाँ पु¥याउँदा लाग्ने खर्च र मेहनत निकै महँगो पर्न जान्छ।
‘हाम्रो सामान धनगढीबाट आउँछ। त्यसमाथि ढुवानी भाडा सबभन्दा महँगो पर्छ। त्यसैले यहाँ खाना र बस्न अलि महँगो हुन जान्छ,’ उनले आफ्नो बाध्यता सुनाए।
बेसक्याम्पमा एक छाक सादा दाल–भात खाएको ५ सय रुपैयाँ पर्छ। कोठाको भाडा ५ सय रुपैयाँ छ। नास्ताको ३ सय रुपैयाँ, एक कप चियाको ४० देखि ५० रुपैयाँ र कफीको ७५ रुपैयाँ पर्छ। सहर बजारको मूल्य सुन्दा यो महँगो लागे पनि, त्यस पछाडिको मेहनत, ढुवानी कष्ट र भूगोलको कठिनाइ बुझ्ने हो भने त्यो मूल्य जायज हो भन्ने कुरा त्यहाँ पुग्ने जो कोहीले पनि महसुस गर्ने गरेको उनले बताए।
‘हामीले रहरले महँगो बनाएको होइन, यहाँ खाना पकाउन ग्यास छैन, दाउरा पाइँदैन। तल धौली ओडारबाट दाउरा बोकेर ल्याउनुपर्छ। मान्छेको पिठ्युँमा बोक्न सकिँदैन, खच्चर वा घोडाको सहायता लिनुपर्छ। त्यसैले सादा दाल–भातको ५ सय रुपैयाँ लिनु हाम्रो रहर होइन, बाध्यता हो।’, उनले भने।
मूल्यमा केही महँगो भए पनि झलक आफ्ना पाहुनालाई गुणस्तरीय र अर्गानिक खाना खुवाउन गर्छन्। उनी सकेसम्म आफ्नो होटलमा आएका पर्यटकहरूलाई बजारको खाना भन्दा आफ्नै गाउँघरमा फलेको अर्गानिक उत्पादन चखाउन रुचाउँछन्।
‘मकै, कोदो, फापर, ढिँडोजस्ता चीजहरू म आफ्नै गाउँघरमा उब्जाउँछु र यहाँ ल्याउँछु,’ उनले भने।
अपि बेसक्याम्प प्रकृतिको नजिक भएपनि आधुनिक सञ्चार सुविधाबाट भने पूरै विच्छेद छ। त्यहाँ मोबाइलको नेटवर्क हुँदैन। त्यहाँ न त नेपाल टेलिकमको टावर टिप्छ, न त एनसेलको। त्यहाँ बस्नु भनेको दुनियाँसँग सम्पर्क टुटेर एकान्तवास बस्नु सरह हो। आफ्नो घरपरिवारसँग ‘म सन्चै छु’ भन्ने एक कल खबर पु¥याउन प्राय उनी पाउँदैनन्। कहिलेकाहि घरमा फोन गर्नकै लागि उनी ‘सिमार’ भन्ने ठाउँसम्म पुग्नुपर्छ। सिमार पुग्न र फर्किन एक दिनको समय लाग्छ।
‘यहाँ नेट केही छैन, दूरसञ्चारको ठुलो असुविधा छ। घरमा फोन गर्नुप¥यो भने यहाँबाट सिमारे वा तल भल्ल्या खोला झर्नुपर्छ। त्यहाँ गएर फोन गरी फर्किदा एक दिन पूरै लाग्छ,’ उनले भने।
यो एकान्तपनले कहिलेकाहीँ उनलाई नराम्ररी अत्याउँछ। चारैतिर पहाड, माथि हिमाल, र बीचमा एक्लो मान्छे। पर्यटकहरूको सेवाप्रतिको लगाव र आफ्नो रोजगारीको एक मात्र बाटो यही भएकाले उनी यो सञ्चारविहीन संसारमा पनि रम्न बाध्य छन्।
अपि बेसक्याम्पमा बाह्रै महिना चिसो सिरेटो चलिरहन्छ। पुस, माघ र फागुन महिनामा त यहाँ बाक्लो हिउँ पर्छ। हिउँले बाटोघाटो र घर नै पुरिने अवस्था आएपछि भने उनी बाध्य भएर गाउँ झर्नुपर्छ।
‘यहाँ, सकभर १२ महिना चिसो हुन्छ। अब हिउँदमा हिउँ परेर बस्नै नसक्ने भएपछि घर जानुपर्छ,’ उनी सुनाउँछन्। उनी बास बस्ने पर्यटक नभएका बेला त्यहाँ एक्लै हुन्छन्। त्यहि बेला वन्यजन्तुको डरले सताउँछ। यो क्षेत्र भालु र हिउँ चितुवाको बासस्थान हो। ‘एक्लै बस्न त डर लागिहाल्छ नि, अनकन्टार ठाउँ छ। कहिलेकाहीँ भालु, कहिले चितुवाको आक्रमण हुने डर हुन्छ। तर के गर्नु ? होटल खोलिसकेपछि बाध्यताले पनि बस्नै प¥यो,’ उनले भने।
झलकलाई ‘बिहान उठ्ने बित्तिकै पहिलो चिन्ता दाउराको हुन्छ। उनी दाउरका लागि धौली ओडारसम्म पुग्छन्। त्यसपछि पानीको समस्या छ। धारामा पानी जमेको हुन्छ। १० बजेसम्म त पानीको व्यवस्थापन गर्दैमा उनको समय ठिक्क हुन्छ। पानी तताएर मात्र काम चलाउन सकीन्छ। नभए जमेको पानीले गाह्रो हुन्छ।
खाना पकाउनु, भाँडा माझ्नु, सरसफाइ गर्नु र पाहुनाका लागि ओछ्यान मिलाउनु उनको नियमित काम हो।
‘कोठाहरू सफा गर्ने, ओछ्यान पट्याउने, सरसफाइ गर्ने, आएका पाहुनालाई खाना खुवाउने चिया बनाएर पिलाउने काम गर्दागर्दै बेलुका भइहाल्छ,’ उनी भन्छन्।
पहिला गुफामा बसेर सेवा दिन्थे, अहिले अपिको फेदमा गेस्ट हाउस चलाउँछन्


