एउटा दोबाटोमा उभिएको महाधिवेशन
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो ११ औँ महाधिवेशन आरम्भ गरिरहँदा वातावरणमा अपेक्षाको चर्को निसासो, इतिहासको भारी प्रतिध्वनि र वैचारिक विरोधाभासको गहिरो तनाव एकैसाथ मिसिएका छन्। पुष्पलालको प्रारम्भिक संगठनात्मक यात्रादेखि मनमोहन अधिकारीको पहिलो महाधिवेशन नेतृत्व, केसरजंग रायमाझी र तुलसीलाल अमात्यको वैचारिक मार्गनिर्धारण, को.के. (केन्द्रीय कमिटी) पृष्ठभूमिबाट उदाएका सी.पी. मैनालीको प्रयोगशीलता, चौथो महाधिवेशनपछि मदन भण्डारीको उदय र पाँचौँ महाधिवेशनमा उनले स्थापित गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) को रूपान्तरण—यी सबै चरणहरूले नेपालको वाम–राजनीतिक यात्रालाई गहिरो आधार दिएका छन्। त्यसैको निरन्तरतामा मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल हुँदै केपी शर्मा ओलीसम्मको नेतृत्व–विकासले नेपालको कम्युनिस्ट आन्दोलनले जति उत्थानको उज्यालो हेर्यो, त्यति नै गिरावट र विभाजनका अँध्यारो मोड पनि भोग्यो।
यद्यपि, आजको राजनीतिक परिदृश्यमा नयाँ शक्तिहरू (रास्वपा र स्वतन्त्रहरू) उदाएका छन्। सडकमै व्यक्त भएको उनीहरूको कडा असन्तोष, स्थापित राजनीतिक परम्पराप्रति देखिएको संशय र ‘पुरानो वाम राजनीति’ प्रतिको गहिरो अविश्वासले नेपालको कम्युनिस्ट आन्दोलनलाई दशकौँपछि पहिलो पटक मौलिक प्रश्नसामु उभ्याइदिएको छ। अधिकार, समानता र समावेशी परिवर्तनका नारा लिएर जन्मिएको वामपन्थ नै अहिले युवा पुस्ताका आँखामा किन फिक्का हुँदै गएको छ? यही प्रश्नले एमाले मात्र होइन, देशको समग्र वाम–राजनीतिक संरचनालाई आत्ममूल्यांकनतर्फ धकेलिरहेको छ— कि कतै आन्दोलनले समयको भाषा सुन्न छाडेको त होइन?
यही जटिल तर निर्णायक पृष्ठभूमिमा चलिरहेको ११ औँ महाधिवेशनले केवल नेतृत्व चयन गर्ने वा संगठनात्मक संरचना परिमार्जन गर्ने औपचारिक कर्तव्य मात्र निभाउने छैन। यो महाधिवेशनले तय गर्नेछ— एमालेले आफ्नो ऐतिहासिक विरासतलाई पुनर्संरचित गर्दै नयाँ पुस्ताको चिन्तासँग संवाद गर्न सक्नेछ कि आफ्नै गौरवशाली इतिहासको छायामा क्रमशः क्षय हुँदै जानेछ? नेपालको कम्युनिस्ट आन्दोलनका लागि यो क्षण एक ऐतिहासिक दोबाटो हो, जहाँ छनोट स्पष्ट छः पुनरुत्थानतर्फको साहसी कदम वा विचलनतर्फको यात्रा।
आदर्शको प्रभात र आजको परिदृश्य
२००६ सालपछि सांगठनिक संरचना पुनःस्थापित भएपछि एमालेको आन्तरिक वातावरणमा वैचारिक ऊर्जा असाधारण रूपमा दह्रिँदै गएको थियो। माक्र्सवाद–लेनिनवादलाई राजनीतिक दिशानिर्देशक कम्पासको रूपमा, जनताको बहुदलीय जनवादलाई वैचारिक वास्तुकला र सामूहिक नेतृत्वलाई संगठनात्मक मेरुदण्डका रूपमा स्थापित गरिँदै थियो। आन्तरिक आलोचना, आत्म–आलोचना र बहसलाई सिद्धान्तगत धारिलोपनका आवश्यक उपकरण मानिँदै, पार्टी केवल सत्ता–प्राप्तिको मिसन होइन, एक प्रकारको राजनीतिक विद्यालयका रूपमा उभिएको थियो। त्यही कारण, त्यो समयका प्रतिज्ञाहरू— समानता, सहकार्य र सिद्धान्तप्रतिको निष्ठा जर्ज ओर्वेलको ‘एनिमल फार्म’ का सात आज्ञा जस्तै अनुशासन र आदर्शवादको साझा पर्खालमा अंकित थिए।
तर, आदर्शको उज्यालो सधैँ स्थिर हुँदैन; जसरी प्रत्येक विद्रोह समयसँगै पुनर्परीक्षणमा धकेलिन्छ, त्यस्तै एमालेका मूल मूल्यहरू पनि शक्ति र व्यवहारवादको घर्षणमा परीक्षण हुन थाले। संगठन विस्तार, नेतृत्वको उभार र राजनीतिक प्रतिस्पर्धाको दबाबसँगै सामूहिकताभन्दा व्यक्तित्व प्रभावशाली हुँदै गयो। वैचारिक कठोरता व्यवहारिक सन्तुलनमा रूपान्तरित हुँदै गयो र आलोचना–आत्मआलोचना जस्ता क्रान्तिकारी अभ्यासहरू ’राजनीतिक संवेदनशीलता’ का नाममा क्रमशः किनारिँदै गए। शक्तिको आफ्नै गति हुन्छ— यसले वाहकहरूलाई पुनःआकार दिन्छ, र यही पुनःआकारले आदर्शको पहिचानलाई समय–समयमा चुनौती दिन थाल्छ।
केपी ओलीः कमजोरीसहितको नायक
नवौँ महाधिवेशनमा विजय हासिल गरेसँगै केपी शर्मा ओलीको लामो राजनीतिक यात्राको एउटा चक्र पूर्ण भएको अनुभूति भएको थियो। झापा विद्रोहको धड्कनमा हुर्किएको १४ वर्षको जेल–संघर्ष, विचारका लागि भोगिएका थुनुवा, प्राणभन्दा महत्त्वपूर्ण मानिएका सिद्धान्तहरू र दशकौँदेखि निरन्तर दोहोरिएका कठोर राजनीतिक परीक्षाहरू— यी सबैले उनलाई केवल एक नेता मात्र नभई, ऐतिहासिक निरन्तरताको वाहकको रूपमा स्थापित गरेको छ। यो विजय केवल राजनीतिक उपलब्धिको शिखर होइन; झापाबाट सुरु भएको विद्रोही चेतना, जनवादप्रतिको अडिग प्रतिबद्धता र निरन्तर संघर्षले निर्माण गरेको राजनीतिक परिपक्वताको श्रृंखलागत पुष्टि पनि हो।
यस जितसँगै धेरै यथार्थहरू पनि स्पष्ट भए। एमाले पहिलो दलको रूपमा उदाउँदै गयो; भूकम्पपछिको पुनःनिर्माण, २०१५ को नाकाबन्दीबाट मुलुकलाई बाहिर निकाल्ने राष्ट्रिय दृढता, चुच्चे नक्सा मार्फत स्वाधीनताको पुनस्र्थापना, ऊर्जा र पूर्वाधारमा तीव्र प्रगति— यी सबैले ओलीलाई महेन्द्रपछिका विकास–केन्द्रित नेताहरूमध्ये अग्रपंक्तिमा उभ्याए। तर, १०औँ महाधिवेशनपछि बिस्तारै शक्ति–केन्द्रिकरणका छायाहरू देखिन थाले— अहंकार, व्यक्तिवादी निर्णय, भिन्न आवाजहरूको संकुचन र सामूहिक नेतृत्वको क्षय। यिनै प्रवृत्तिहरूले नेतृत्व शैलीलाई प्रतीकात्मक रूपमा “नेपोलियन मार्ग” सँग तुलना हुने अवस्था सिर्जना ग¥यो। यहीँदेखि वास्तविक चुनौती सुरु हुन्छः ऐतिहासिक उचाइलाई संस्थागत सन्तुलनले टिकाऊ बनाउने कि व्यक्तिवादका कारण आन्दोलनले आफ्नै आधारमा संकट निम्त्याउने?
वैचारिक ‘आज्ञा’हरूको मौन पुनर्लेखन
ओर्वेलको कथामा जस्तै— जहाँ सात आज्ञाहरू समयसँगै अलि–अलि परिमार्जन, पुनःव्याख्या र अन्ततः विस्मृतिमा हराउँछन्— एमालेको वैचारिक यात्रामा पनि त्यस्तै मौन रूपान्तरणको छाया देखिन थालिएको छ। पहिले सामूहिक नेतृत्व, आन्तरिक बहस, जवाफदेहिता र लोकतान्त्रीकरणका सिद्धान्तहरू पार्टीको मेरुदण्ड झैँ ठाडा उभिएका थिए; तर आज ती धेरैजसो केवल कागजमा बाँकी भाषिक अनुच्छेदझैँ महसुस हुन थालेका छन्। यो रूपान्तरण खुला विद्रोहजस्तो हुँदैन, यही कारणले यसको बोझ अझै गम्भीर हुन्छ।
भर्खरै सम्पन्न विधान महाधिवेशनले यस मौन रूपान्तरणलाई औपचारिकता पनि दिएको छ— दुई कार्यकालको सीमा, ७० वर्ष उमेरपछि पूर्ण निष्क्रियता र नेतृत्व–योग्यताका कठोर प्रावधानहरू स्थगित वा हेरफेर भए। गहिरो स्तरमा यी संशोधनहरू पार्टीभित्रको शक्ति–सन्तुलन कसरी पुनःआयोजन हुँदैछ भन्ने संकेत पनि हुन्। सामूहिक नेतृत्वको ’स्पिरिट’ कमजोर हुँदै गएर जब निर्णय व्यक्ति–केन्द्रित हुँदै जान्छ, त्यही क्षणदेखि वैचारिक आज्ञाहरूको “मौन पुनर्लेखन” सुरु हुन्छ। यो केवल संस्थागत परिवर्तनको कथा होइन— यो आन्दोलनको आत्मा, आदर्श र भविष्य कुन दिशातिर मोडिँदैछ भन्ने गम्भीर संकेत हो।
‘स्नोबल’ रूपकः विचारकहरूको मौन बहिष्कार
ओर्वेलको कथामा ’स्नोबल’ त्रुटिहीन नहुन सक्छन्, तर उनी विचार, नवप्रयोग र आलोचनात्मक नेतृत्वका प्रतीक हुन्— जसले क्रान्तिलाई दिशा दिन सक्ने क्षमता बोकेको छ। शक्ति–केन्द्रित नेतृत्वको उदयमा, जब व्यक्तिगत प्रभुत्व र निर्णय–केन्द्रित नीति प्रमुख हुन्छ, त्यसले स्वतः वैचारिक बहस र नवप्रवर्तनलाई सीमित बनाउँछ; स्नोबलको भूमिका त्यही रूपकमा हल्का धम्की मात्र नभई पूर्ण बहिष्कारमा परिणत हुन्छ। एमालेको वर्तमान संरचनामा पनि यस्तै ढाँचाले काम गरेको देखिन्छ। घनश्याम भुसाल आफ्ना विचार र वैचारिक योगदानका बाबजुद पार्टीमा छैनन्; भीम रावल, जो पूर्वमा सम्भावित प्रतिस्पर्धी थिए, निरन्तर राजनीतिक अलगावमा छन्। यस्तै माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाल र हजारौँ एमालेका कार्यकर्ता अलग भएका छन्। यसमा उनीहरूको पनि गल्ती होला, तर नेतृत्वले पुराना नेतालाई किनारा लगाएको पनि हो। यो कुनै पात्रगत तुलना मात्र होइन, यो शक्ति–केन्द्रित संरचनामा वैचारिक उत्पादन र आलोचनात्मक सोचलाई सीमित गर्ने एक स्थायी व्यवहारगत ढाँचा हो, जसले पार्टीको वैचारिक बहुलता र आन्तरिक आलोचनात्मक चेतनालाई क्रमशः पन्छाउँदै लैजान्छ।
पूर्व–विरोधीहरूसँगको गठबन्धन र प्रश्नहरूको दण्ड
ओर्वेलको एनिमल फार्ममा सुँगुरहरूले मानवसँग व्यापार सुरु गर्ने दृश्यले क्रान्तिको विडम्बना उजागर गर्छ— विचारधारात्मक विरोधीहरूसँगको सहकार्यले नै आदर्शको प्रतिबिम्बलाई चुनौती दिन्छ। एमालेको वर्तमान सम्बन्ध–जालमा पनि यस्तै प्रश्न उठ्छ। व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान, पूँजीपति र व्यवसायी वर्गसँगको घनिष्ठ सम्बन्ध र नेताहरूको जीवनशैलीमा आएको परिवर्तनले स्पष्ट संकेत गर्छ कि वर्ग–विश्लेषणको धार शिथिल हुँदै गएको छ। पूँजीवादी संरचनासँगको सहकार्यले वैचारिक पुनव्र्याख्या जन्माएको हो कि समयानुकूल आधुनिकीकरणको आवश्यकता? समर्थकहरूले यसलाई व्यावहारिक र आधुनिक सुधारका रूपमा प्रस्तुत गरे पनि रूपान्तरणको तथ्य अस्वीकार गर्न सकिँदैन।
त्यस्तै, स्वस्थ कम्युनिस्ट संरचनामा आलोचना वैकल्पिक होइन, यो अनिवार्य हो। लेनिनवादी सिद्धान्तले नै भन्छ— आलोचना नअँगाल्ने पार्टी पतनतर्फ अग्रसर हुन्छ। तर अहिले असहज प्रश्न उठाउनेहरू— विशेषगरी महिला नेतृहरू बिन्दा पाण्डे र उषाकिरण, जसले पूँजीपति र जग्गासम्बन्धी निर्णयमा प्रश्न उठाए वा जिल्ला तहका कार्यकर्ता जसले जायज प्रश्न उठाउँछन्— उनीहरू अनुशासनात्मक कारबाही वा स्पष्टीकरणको केन्द्रमा परेका छन्। यसले स्पष्ट संकेत दिन्छ कि क्रान्तिहरू बाह्य शत्रुबाट होइन, आन्तरिक चुप्पी, आलोचना–दमन र वैचारिक असहिष्णुताबाट पतनतर्फ धकेलिन्छन्।
‘केही जनावर अरूभन्दा बढी समान हुन्छन्’
ओर्वेलको कथामा अन्तिम दृश्यले क्रान्तिको विडम्बना उजागर गर्छ— नेता मानवसँग भोज गर्दैछन् र सात आज्ञा मेटिएर बाँकी रहन्छ एउटा वाक्यः ‘सबै जनावर समान छन्, तर केही जनावर अरूभन्दा बढी समान हुन्छन्।’ आजको एमाले पनि समानता, लोकतन्त्र र वैचारिक पवित्रताको घोषणामा गर्व गर्छ, तर निर्णय–केन्द्रित नेतृत्व, व्यक्तित्व–सत्ता र आन्तरिक बहसको क्रूर अभावले यो घोषणालाई नकारात्मक र विडम्बनात्मक बनाइरहेको छ। यो केवल अवलोकन होइन, यो संरचनागत विफलताको प्रमाण हो।
पार्टीभित्र तथाकथित ‘ग्याङ अफ फाइभ’वा कुनै गुटको दबदबा, जिम्मेवारी वितरणमा असमानता, भ्रातृ संगठनमा देखिएको निर्णय–केन्द्रित व्यवहार र नयाँ पुस्तासँगको संवादमा देखिएको अनुचित शैलीले पार्टीलाई केवल नेतृत्व–केन्द्रित, नाजुक र आलोचना–असहिष्णु प्रणालीमा परिणत गरेको छ। युवा, विचारक र सक्रिय कार्यकर्ताहरू दबाइएका छन्; आन्तरिक आलोचना जोखिमपूर्ण मानिन्छ। पार्टीको वास्तविक समस्या अब केवल बाह्य प्रतिस्पर्धी वा वैचारिक विरोधी होइन; यो आन्तरिक अपारदर्शिता, शक्ति–केन्द्रिकरण र व्यक्तिगत प्रभुत्वको संरचनागत समस्या हो।
यदि पार्टीले यथार्थलाई अँगाल्न सकेन भने, चलिरहेको महाधिवेशन र युवा पुस्तासँगको सम्बन्ध केवल औपचारिकता बन्नेछ। प्रश्न स्पष्ट छ— के संचित शक्ति कठोर पदानुक्रममा परिणत हुनबाट रोकिनेछ? के आलोचकलाई दमन नगरी सुनेर सुधार सम्भव छ? र, के शासन, चुनाव र प्रशासनको बोझ बोकेर पनि वैचारिक स्पष्टता, लोकतान्त्रिक प्रक्रिया र संस्थागत समावेशिता कायम राख्न सकिन्छ? जबसम्म यी प्रश्नको जवाफ स्पष्ट हुँदैन, पार्टी केवल विगतको गौरवको बाँकी साखमा अड्किएर भविष्य गुमाउँदै जानेछ।
केपी ओलीः प्रशंसा योग्य, तर आलोचनातीत होइनन्
सच्चा राजनीतिक परिपक्वता भनेको आदर र आलोचनाको सन्तुलनमा उभिन सक्नु हो। केपी शर्मा ओली अझै आधुनिक नेपालको प्रभावशाली नेतृत्वका शिखर–व्यक्तित्व हुन्— एक स्थिरता दिने मियो, जबरदस्त वक्ता र चुस्त रणनीतिकार। तर यो तथ्यले आलोचना बन्द हुँदैन। यदि हामी उनलाई साँच्चिकै सम्मान गर्छौं भने, उनका निर्णय, कार्यशैली र संगठनप्रतिको दृष्टिलाई प्रश्न गर्ने साहस अनिवार्य छ। ओलीको ऐतिहासिक मूल्यांकन यसमा पनि निर्भर रहनेछ— के उनले पार्टीलाई बहुलवादी, समावेशी र वैचारिक रूपमा सुदृढ बनाउने अनुमति दिए, वा व्यक्तिगत प्रभुत्व र केन्द्रित नेतृत्वले पार्टीलाई धकेलेर सीमित ग¥यो?
भोलिको महाधिवेशनः ऐतिहासिक परीक्षा, निर्णायक मोड
११ औँ महाधिवेशनले तीन बाटा खोल्दै छ— केन्द्रीकृत नेतृत्वको पुनःप्रमाणिकरण (जसले छोटो अवधिमा एकता त देला तर दीर्घकालमा वैचारिक जडता निम्त्याउँछ); सामूहिक नेतृत्वद्वारा पुनर्नवीकरण, संगठनात्मक र वैचारिक वैधताको पुनःअधिग्रहण; र ‘हाइब्रिड स्थिरता’, जहाँ ओलीको नेतृत्व कायम राख्दै आन्तरिक बहस र आलोचना पुनस्र्थापित हुन्छ। यो तेस्रो विकल्प सबैभन्दा व्यवहारिक तर साहसी बाटो हो। यहाँ निर्णय मात्र एमालेको होइन, समग्र नेपालको राजनीति र राष्ट्रको भविष्यको दिशा तय गर्ने मोड हो।
क्रान्तिहरू मर्दैनन्, तर रूपान्तरित हुन्छन्
एनिमल फार्मले सिकाउने सत्य यही हो— क्रान्तिहरू नाटकीय रूपमा पतन हुँदैनन्; चुपचाप, विस्तारै, मौन रूपमा बदलिन्छन्। एमालेको यात्रा यसैको प्रतिरूप हो— यो परिपक्व भएको छ, विकसित भएको छ, सम्झौताहरू गरेको छ र जीवित छ। यो महाधिवेशन एक दुर्लभ अवसर हो— यो स्पष्ट गर्ने कि पार्टीको रूपान्तरण अझै मूल प्रेरणासँग सुसंगत छ कि छैन। नेतृत्वले आलोचना आत्मसात् गरेर, वैचारिक विविधता सम्मान गरेर र सामूहिक नेतृत्व पुनस्र्थापित गरेर पार्टीलाई पुनर्जन्म दिन सक्छ। तर यदि केन्द्रीकरण र व्यक्तित्व–सत्ता अडिग रह्यो भने, एमाले केवल भूतकालको स्मारक बन्नेछ, भविष्यको इन्जिन होइन। अन्ततः निर्णय कार्यकर्ताको हातमा छ— र पार्टी जीवित रहन्छ वा मरेको देखिन्छ, यो निर्भर छ बोल्ने साहसमा, मौनतामा होइन।
एमालेको ११ औँ महाधिवेशन र ‘एनिमल फार्म’को मौन प्रतिध्वनि


